फिफाले अमेरिकामा आयोजना हुने पुरुष क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमलाई कुल एक अर्ब डलर पुरस्कार राशि दिने घोषणा गरेको छ ।
यो बहुप्रतीक्षित घोषणा प्रतियोगिताको पहिलो खेल मियामीमा सुरु हुनुभन्दा तीन महिना अघि गरिएको हो ।
रियल मड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित युरोपका १२ ठूला क्लबले फिफासँग यस प्रतियोगिताबाट १० लाख डलर आम्दानी हुने सुनिश्चितताको माग गर्दै आएका थिए ।
फिफाले पुरस्कार राशि वितरणको कुनै निश्चित फारमुला खुलाएको छैन । फिफाका अनुसार प्रतियोगिताबाट कुल दुई अर्ब डलर आम्दानी हुनेछ ।
यसमा सोलिडारिटी फन्डिङसमेत समावेश हुनेछ, जसबाट छनोट नभएका क्लबहरूलाई पनि आर्थिक लाभ मिल्नेछ ।
फिफाको २०२४ को वित्तीय प्रतिवेदनअनुसार १२ अमेरिकी सहरमा ६३ खेल खेलिने क्लब विश्वकपमा टिकट र आतिथ्य सेवाबाट मात्र ५० करोड डलर आम्दानी हुने अपेक्षा गरिएको छ।
चार सिजनको दौरान महादेशीय क्लब प्रतियोगितामा उपाधि जितेर वा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै क्लबहरू क्लब विश्वकपमा छनोट भएका हुन् । फिफाले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्ने रूपमा लिओनल मेसीको क्लब इन्टर मियामीलाई आमन्त्रण गरेको छ ।
यो क्लबले मेजर लिग सकर (एमएलएस) मा नियमित सिजनमा उत्कृष्ट प्रदर्शन गरेको कारण यो अवसर प्राप्त गरेको हो । फिफाले २०२४ मा अध्यक्ष जियानी इनफान्टिनोको आधारभूत तलब २.९२ मिलियन डलर भएको जनाएको छ । यो रकम २०२३ को तुलनामा एक लाख ५७ हजार डलर बढी हो ।
इनफान्टिनोलाई १.८५ मिलियन डलर बोनस दिइएको छ, जसले गर्दा उनको कुल वार्षिक आम्दानी ४.७७ मिलियन डलर पुगेको छ । फिफाले २०१६ मा इनफान्टिनो अध्यक्ष बनेपछि पारदर्शिता सुधारका लागि तलब विवरण सार्वजनिक गर्न थालेको हो ।
