नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियाका अनुभवी कोच म्याट रोस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनलाई एक वर्षको लागि आधिकारिक रूपमा टिमको नेतृत्व सुम्पिएको छ । आइतबार एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

एन्फाले उनको नेतृत्वमा नेपाली फुटबलले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ । ४७ वर्षीय रोससँग प्रतिष्ठित यूईएफए प्रो लाइसेन्स छ, जुन फुटबल प्रशिक्षकहरूका लागि उच्चस्तरीय प्रमाणपत्र मानिन्छ ।

उनी यसअघि दक्षिण कोरियाको राष्ट्रिय महिला फुटबल टिमका सहायक प्रशिक्षक रहेका थिए । सन् २०२० को जनवरी १ देखि २०२३ अगस्ट ५ सम्म उनले उक्त जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि, सन् २०२३ अगस्ट ६ देखि २०२४ अगस्ट ५ सम्म रोसले साउदी अरेबियाको क्लब अल-कादिसियाहको यू-१९ पुरुष टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

उनको आगमनसँगै नेपाली फुटबलमा नयाँ रणनीति, आधुनिक खेलशैली, र थप प्रतिस्पर्धात्मक क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *