च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ ।
आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ । यो समूह चरणको खेललाई क्वाटर फाइनल सरह मान्न सकिन्छ । जसल खेल जित्छ, सो टोली सेमिफाइनलमा पुग्नेछ ।
हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठुलो अन्तरको हारको आश गर्नुपर्नेछ । जुन असंभव जस्तै देखिएको छ । आज वर्षाले खेल प्रभावित हुने संभावना पनि रहेको छ । यदि खेल रद्द भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।
पछिल्ला आइसिसी प्रतियोगिताहरयमा यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक रहँदै आएको छ । २०२३ को पुरुष एकदिवसीय विश्वकपमा ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको थियो ।
तर अफगानिस्तानले २०२४ को पुरुष टि ट्वान्टी विश्वकपमा बदला लिँदै अष्ट्रेलियालाई पराजित गरेको थियो ।
दुवै टोलीले इङ्गल्याण्डलाई हराउँदै सेमिफाइनलमा पुग्ने संभावनालाई कायमै राखेका हुन् । आजको खेल दुवैको लागि सेमिफाइनल पुग्ने ठुलो अवसर पनि हो । यसअघि अष्ट्रेलियाले इङ्गल्याण्डलाई ५ विकेटले हराउँदा दक्षिण अफ्रिकासँगको खेल वर्षाको कारण वास आउट भएको थियो ।
अफगानिस्तानले इङ्गल्याण्डलाई ८ रनले हराएको थियो । दक्षिण अफ्रिका विरूद्ध अत्यन्त कमजोर सुरुवात गरेपनि खेलमा फर्कने प्रयास भने अफगानिस्तानले गरेको थियो । सो खेल दक्षिण अफ्रिकाले १ सय ७ रनले जितेको थियो ।
इङ्गल्याण्ड विरूद्धको खेलमा अष्ट्रेलियाले आइसिसी एकदिवसीय प्रतियोगितामा १९८३ यताकै अनुभवहीन खेलाडी उतारेको थियो । तर दबाबमा परेर पनि उनीहरूले खेल्ने क्षमता भने देखाएका थिए । शतक प्रहार गरेका जोश इंग्लिस स्टार ब्याटरको रूपमा उदाएका छन् । अष्ट्रेलियाले कठिन परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना राख्छ।
तर त्यसका लागि युवा अनि उदीयमान अफगानिस्तानको चुनौती पार गर्नुपर्नेछ । अफगानिस्तानको प्रदर्शन भने स्पिन आक्रमणमा भर पर्नेछ ।
यो समुहमा समान २ खेल खेलेका दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान ३ तथा अफगानिस्तानको २ अंक छ । लाहोरको खराब मौसमले पनि खेलमा प्रभाव पार्न सक्ने संभावना छ ।
