ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ ।
समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार गर्यो ।
इङ्ग्ल्याण्डका ओपनर डकेटले रहँदै सर्वाधिक १ सय ६५ रन जोडे । उनले १ सय ४३ बलमा १७ चौका र ३ छक्का प्रहार गरे। डकेटले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए ।
उनले यसअघि २००४ को च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डका नाथन एस्टलले बनाएको कीर्तिमान तोडेका हुन् । नाथनले अमेरिकाविरुद्धको खेलमा नट आउट १ सय ४५ रन बनाएका थिए ।
जो रुटले ७८ बलमा ४ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान जोस बटलर २३, जेमी स्मिथ १५, लियम लिभिस्टोन १४ रन बनाए । जोफ्रा आर्चर २१ रनमा नट आउट रहँदा बायडेन कार्सले ८ रन जोडे ।
अस्ट्रेलियाका लागि बेन ड्वारशुइसले ३, मार्नुस लाबुशेन र एडम जाम्पाले समान २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।
यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ ।
