म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही खेलको गोल निर्णायक बन्न पुग्यो ।
आर्सनलको आजको जित सँगै प्रिमियर लिगको उपाधि लिगको अन्तिम खेलमा छिनोफानो हुने भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २ खेल खेल्न बाँकी छ भने आर्सनलले १ खेल बाँकी रहेको छ ।

जित पछि आर्सनलको ३७ खेलमा ८६ अंक छ । दोस्रो स्थानमा रहेको सिटीको ३६ खेलमा ८५ अंक छ। सिटीले अब टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्न बाँकी छ । आर्सनलले भने आउँदो हप्ता एभर्टन विरुद्ध खेल्नेछ ।
आर्सनलले उपाधि जित्नका लागि सिटीले कुनै एक खेलमा तीन अंक नल्याउनु पर्ने हुन्छ । आर्सनलको गोल अन्तर सिटी भन्दा राम्रो रहेकाले बराबर अंक रहेमा आर्सनलको उपाधि जित्ने सम्भावना बढी रहेको छ ।
