शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडमाथि पुनरागमन जित हासिल गर्दै न्युरोड टिम (एनआरटी)ले २५औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार धरान उपमहानगरपालिकास्थित धरान रंगशालामा सम्पन्न फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले हरायो । एनआरटीलाई च्याम्पियन बनाउन दुवै गोल विदेशी खेलाडी हेनरी पोकोले गरे ।

चर्च ब्वाइजले खेलको २४औं मिनेटमा कप्तान अनन्त तामाङको हेडर गोलमार्फत अग्रता लिएको थियो । तर, तीन मिनेटपछि नै पोकोले एनआरटीलाई खेलमा फर्काए । पोकोले त्यसपछि ५७औं मिनेटमा निर्णायक गोल गरे ।

शुक्रबार एनआरटीले पोखरामा बेहोरको हारको बदला समेत लियो । दुई दिनअघि पोखरा रंगशालामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडनडेथमा निराश पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

एनआरटी लगातार दोस्रो संस्करण च्याम्पियन बन्न सफल भएको हो । गत वर्ष सम्पन्न २४औं संस्करणमा एनआरटीले मोरङ फुटबल संघमाथि फाइनलमा २–१ कै नतिजामा विजयी हासिल गरेको थियो । समग्रमा एनआरटीको यो तेस्रो उपाधि हो । यसअघि एनआरटी २०६४ मा पहिलो पटक च्याम्पियन बनेको थियो ।

उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *