विराटनगर । युवा राष्ट्रको लागि, विराटनगरको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगितामा विराटनगर स्पोर्ट्स एकेडेमी र कोशी प्रदेश पुलिस क्लबले बिजयी सुरुवात गरेका छन् ।

विराटनगरस्थित जुटमिल मैदानमा भएको उद्घाटन खेलमा विराटनगर स्पोर्ट्स एकेडेमीले इटहरीको शान्ति युवा क्लबलाई २-१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ ।

विराटनगरको जितमा बिकाश बस्नेत र हरि खवासले गोल गरे । इटहरीका लागि एमडी समिरले गोल फर्काए । खेलको म्यान अफ दि म्याच विराटनगरका श्याम चौधरी घोषित भए । उनले नगद ५०० र मेडल प्राप्त गरे ।

अर्को खेलमा सेन्ट जोसेफ एकेडमीलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै कोशी प्रदेश पुलिस क्लब पनि अन्तिम आठमा स्थान बनाएको छ ।

निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलको म्यान अफ दि म्याच पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले पनि नगद ५०० र मेडल प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष तथा मदलरल्यान्ड बोर्डिङ स्कुलका प्रधान्ध्यापक मोहन बुढाथोकी लगायतले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने आयोजक युवा राष्ट्रको लागिका अध्यक्ष सक्रिय गौतमले जानकारी गराए ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद ५१ हजार तथा उपविजेतालाई २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । 

साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार १ सय, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्ताले जनही नगद १ हजार ५ सय प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *