कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स युथ क्लब, डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा डडेलधुराले न्यु होराइजन बुटवललाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

बुटवलले दिएको ८३ रनको झिनो लक्ष्य डडेलधुराले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । डडेलधुराका लागि ओपनर कुशल भुर्तेलले २६ बलमा ६ चौका र दुई छक्कासहित सार्वधिक ४५ रन बनाए । उनलाई महेश भारीले ६.५ ओभरमा निश्चाल ज्ञावलीबाट क्याच गराए ।

यस्तै, अर्का ओपनर आयुषमान बमले १६ रन बनाउँदा कप्तान सन्दीप जोरा ६ र किरण ठगुन्ना ८ रनमा अविजित रहे । बुटवलका प्रिन्स पालले ३ तथा निर्मल गुरुङ र महेश भारीले समान १ विकेट लिए । 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो । बुटवलका लागि आरिफ खानले १६ बलमा सर्वाधिक २० रन जोडे । यस्तै दिपक डुम्रे १८ र निश्चल ज्ञवाली १४ रनमा आउट भए । बुटवलका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डडेल्धुराका कुशल भुर्तेलले सार्वधिक ५ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच भए । यस्तै, अजय चौहानले ३ तथा हेमन्त धामी र अशोक धामीले समान १ विकेट लिए । 

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो सेमिफाइनल खेल डीसीए धनगढी र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *