धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
समूह चरणको अन्तिम खेलमा सीवाईसी अत्तरियाले न्यू होराइजन बुटवललाई पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
शुक्रबारको खेलमा पराजित भए पनि बुटवल समान दुई अंक रहेका बैतडी र काठमाडौंलाई रनरेटमा पछाडि पार्दै अन्तिम चारमा पुगेको छ । यसअघि नै अत्तरिया, फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगिसकेका थिए
अब सेमीफाइनलमा समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसँग खेल्ने छ । यस्तै समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग खेल्ने छ । पहिलो सेमिफाइनल शनिबार र आइतबार हुनेछन् भने सोमबार उपाधि भिडन्त हुनेछ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
१८९ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ८ विकेट गुमाएर ११० रन मात्रै बनाउन सक्यो । बुटवलका लागि प्रतिक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र बीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान २ विकेट लिए । कमल गुप्ता र दिपेश कडेलले समान १ विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाएर १८८ रनको योगफल तयार पारेको थियो ।
अत्तरियाका भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ३९ बलमा ५८ तथा यादवले ३८ बलमा ५१ रन बनाए । यादव खेलका म्यान अफ द म्याच भए । यस्तै, शंकर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले २ तथा बीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले समान १ विकेट लिए ।
नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
