इटहरी । १५औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ ।
फागुन ३ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा हुने प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
आयोजक राष्ट्रिय जागृति क्लब (राजा) का अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार गोल्डकपमा नेपाल र भारतका गरी कुल ८ टोलीहरु सहभागी हुनेछन् ।
सार्वजनिक गरिएको खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी) बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन १० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पाउने छन् भने अन्य विधातर्फका उत्कृष्टहरुले जनही २० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ हजार हात पार्ने पनि जानकारी गराइयो भने प्रतियोगिताको उदीयमान खेलाडीलाई एक थान आकर्षक एलइडी टिभी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद् संरक्षक रहेका छन् ।
दर्शकका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यस वर्षको प्रतियोगितामा ८१ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ८२ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

