नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका पदाधिकारीले  शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् ।

नेपाल उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा राखेप सदस्य सचिव टंक लाल घिसिङलाई ज्ञापन पत्र बुझाउने क्रममा उक्त घटना भएको हो ।

वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव रहेको उसु महासंघले आफुहरु नै आधिकारिक हो भन्दै राखेप सदस्य सचिवलाई ज्ञापन पत्र बुझाउन गएका थिए ।

महासचिव लाक्पाछिरिङले ज्ञापान पत्र वाचन गर्दै गर्दा अन्य पदाधिकारीले सदस्य सचिवको कार्यकक्षमा प्रवेश गरेर हल्ला गर्ने तथा तोडफोड गर्ने कार्य गरेका थिए ।

यस घटनालाई लिएर शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघको समूहले भने उक्त ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै तोडफोडमा सहभागी समूहलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो ।

कर्माचार्य रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ ।

दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन । दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन ।

बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न बज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङ‌विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कार्बाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो ।

ऐनको दफा १५ मा कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी त्यसको प्रयोग गरेमा कसूरको मात्राअनुसार १ देखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यव्स्था ।

यस्तै दफा १६ मा झुट्टा विवरण दिनेलाई कसूरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न राखेपले अवसर दिएको भोलीपल्ट नै लामासहितका टोलीले सदस्यसचिवको कार्यकक्ष तोडफोड गरेको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *