धरान । चर्च ब्वाइज युनाइटेड धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा भुटानको रोयल थिम्पु कलेजलाई ७-० को फराकिलो अन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । 

चर्च ब्वाइजको जितमा समिर तामाङ र अर्मान्ड बेडङले ह्याट्रिक गरे । यस्तै, पदम भट्टराईले एक गोल गरे । 

खेलको २१औँ मिनेटमा समिरको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो । खेलको २६औं मिनेटमा अर्मान्डले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै पदमले गोल गरेपछि पहिलो हाफमै चर्च ब्वाइजले ३-० को अग्रता लिएको थियो । खेलको ४९औँ मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दा चर्च ब्वाइज ४-० ले अघि बढ्यो । त्यसपछि खेलको ५२औँ मिनेटमा गोल गर्दै अर्मान्डले ह्याट्रिक पूरा गरेका थिए । 

खेलको ५५औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । त्यसपछि खेलको ८५औँ मिनेटमा समिरले पनि ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ७-० को फराकिलो जित दिलाए । 

खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका समिर तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनल खेल न्युरोडटिम (एनआरटी), काठमाडौं र युनाइटेड खर्साङ्ग फुटबल क्लब, भारतबीच हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *