जर्मन बुन्डेसलिगामा बायर लेभरकुसनले होफेनहेइममाथि ३-१ गोलको सहज जित हात पारेको छ ।
लेभरकुसनको घरेलु मैदान बे एरिनामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेस, जेरेमी फ्रिमपोङ र प्याट्रिक शिकले गोल गरे । होफेनहेइमका लागि गिफ्ट ओर्बानले एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा बोनिफेसले गोल गर्दै लेभरकुसनलाई सुरुवाती अग्रता दिलाएका थिए । चार मिनेटपछि नै फ्रिमपोङले टोलीको अग्रता दोब्बर बनाए ।
शिकले ५१औं मिनेटमा गोल गर्दा लेभरकुसन ३-० ले अगाडि बढ्यो । अलेजान्ड्रो ग्रिमाल्डोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि ६०औं मिनेटामा लेभरकुसन १० खेलाडीमा समेटिएको थियो ।
ओर्बानले ६२औं मिनेटामा होफेहेइमका लागि सान्त्वना गोल गरे ।
जितसँगै २० खेलमा ४५ अंक जोडेको लेभरकुसन दोस्रो स्थानमा छ । पराजित होफेनहेइम समान खेलबाट १८ अंकका साथ १५औं स्थानमा छ ।
लेभरकुसनले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्याएको छ । लेभरकुसन पछिल्लो पटक अगस्ट २१ मा आरबी लाइप्जिगसँग पराजित भएको थियो । त्यसयता क्लबले १३ जित र ६ बराबरीको नतिजा निकालेको छ ।
