इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २-० गोलअन्तरले पराजित भएको हो । क्रिस्टल प्यालेसको जितमा दुवै गोल जिन फिलिप मटेटाले गरेका हुन् ।
पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४औं मिनेटमा जिन फिलिपले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ८९औं मिनेटमा जिन फिलिपले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टल प्यालेसलाई ओल्ड ट्राफोर्डमा २-० को सानदार जित दिलाए । खराब लयमा रहेको म्यानचेस्टर युनाइटेडले यो सिजन घरेलु मैदानमा भएका १३ खेलमध्ये ७ खेलमा पराजय भोगेको छ।
जितसँगै क्रिस्टल प्यालेस २४ खेलबाट ३० अंकका साथ लिगको १२औं स्थानमा उक्लिएको छ । पराजित म्यानचेस्टर युनाइटेड भने समान खेलबाट २९ अंकका साथ लिगको १३औं स्थानमा छ ।

अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ । जारी लिगमा टोटेनहमले आठौं खेलमा पहिलो जित हासिल गरेको छ ।
जितसँगै २४ खेलबाट २७ अंंक जोडेर तालिकाको १४औं स्थानमा छ । पराजित बेन्टफोर्ड २४ खेलबाट ३१ अंकका साथ ११औं स्थानमा छ ।
