दोस्रो संस्करणको आइसिसी महिला यू-१९ महिला विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमामा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि उचालेको हो ।

भारतले लगातार दोस्रो पटक यू–१९ महिला विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो । 

जितकालागि दक्षिण अफ्रिकाले दिएको ८३ रनको झिनो लक्ष्य पछ्याएको भारतले ११.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । अविजित नै रहेकी सानिका चाल्केले २६ रनको योगदान दिइन् । दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र १ विकेट लिन सकिन् । 

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि म्याकी वन वस्र्टले सर्वाधिक २३ रन बनाईन् । जिम्मा बोथाले १६ तथा फेय कोलिङले १५ रन जोडिन् । भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले समान २ विकेट लिए । 

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । यद्यपि नेपालले समूह चरण पार गर्न सकेन । नेपालले ग्रुप स्टेजमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेलेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *