भीम सार्की र विवेक यादव चम्किएपछि सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

धनगढीस्थित फाप्ला मैदानमा भएको आइतबारको पहिलो खेलमा अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३८ रन बनायो ।

दशरथका लागि हिमाल दुलियाले सर्वाधिक ३९ रन जोडे । उनले ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे । बसन्त खत्रीले १४ बलमा २ छक्काको सहयोगमा २३ रन जोडे । सुमित बडालले ९ बलमा २ छक्काको सहयोगमा १८ रन जोडे । सलाउद्दिन खान तथा दिपक बोहोरा समान १० रनमा आउट भए ।

अत्तरियाका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे । चार ओभरमा २५ रन दिएका यादवले चार विकेट लिए । साहब आलम र कमल गुप्ताले समान २ तथा दिपेश कँडेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

अत्तरियाका लागि भीम सार्कीले ७० रनको अविजित पारी खेले । उनले ३३ बलमा छ चौका र चार छक्का प्रहार गरे । यस्तै तृतराज दासले ३०, शंकर रानाले २५ रन जोड्दा विवेक यादव १७ बलमा २५ रन बनाएर अविजित रहे ।

दशरथका लागि अमर रौतेलाले दुई तथा रुपेश सिंहले १ विकेट लिए । खेलका म्यान अफ द म्याच अत्तरियाका विवेक यादव भए ।

प्रतियोगिताअन्तर्गत अहिले डीसीए धनगढी र घोडाघोडी-११ बीच खेल भइरहेको छ ।

गो ड्रिमर्सको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ टिमको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *