कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेन्ड्स क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै डडेल्धुराले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
डडेल्धुराका लागि कुशलले ५१ बलमा ९ चौका र ५ छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४२ रन बनाए ।
धनगढीका लागि ललितनारायण राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो ।
धनगढीका लागि अमित श्रेष्ठले ३२, निरज अयरले २७, कप्तान नारायण जोशीले १५ तथा लोकेश बम र अभिषेक पालले समान १० रन बनाए ।
डडेल्धुराका लागि राहुल लुनियाले सर्वाधिक ३, रवि विष्ट र कुशल भुर्तेलले समान २ तथा हेमन्त धामीले १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
यसअघि प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।
