नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन चितवन भरतपुरस्थित होटेल असोकामा आज सम्पन्न भएको छ ।

यस सभाले आगामी दुई वर्षका लागि अच्युत पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। सर्वसम्मत रूपमा चयन भएको ९ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष केदार शर्मा, सचिव मोहन ज्ञवाली, सहसचिव सागर पि.एस, कोषाध्यक्ष दिनेश नाइस, साथै कार्यसमिति सदस्य तारा प्रसाद पाठक, सचिन ढकाल, अबिन कार्की र सुप्रीया खनाल रहेका छन् ।

संस्थालाई थप चलायमान बनाउँदै, उद्देश्य अनुरूपका गतिविधि संचालन र महत्वपूर्ण नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि सम्पन्न कार्यक्रममा सस्थाका संस्थापक, आजीवन, जेनेरल तथा असोसिएट सदस्यहरू सहभागी भएका थिए । चितवन जिल्ला समन्वयक दिनेश नाइसले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यसै गरी, जिल्लाका समन्वयकहरूले आफ्ना-आफ्ना जिल्लाका प्रतिबेदन तथा प्रगतिका विवरणहरू प्रस्तुत गरेका थिए । अध्यक्ष नारायण पराजुलीले अध्यक्षको प्रतिबेदन, कोषाध्यक्ष अच्युत पाण्डेले आर्थिक प्रतिबेदन सभा मार्फत पेश गर्नु भएको थियो भने, कार्यक्रमको संचालन सचिव मोहन ज्ञवालीले गर्नु भएको थियो ।

नेपाली क्रिकेट समर्थक समाज (NCSS) मिति २०७३ बैशाख २२ गते काठमाडौंस्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भई हालसम्म लक्ष अनुरूपका विविध गतिविधिहरूमा संलग्न भई आएको छ ।

यसले स्थानीय स्तरमा हुने प्रतियोगितामा योगदान, खेलाडीहरू र क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहन, आवश्यक पर्दा सहयोग तथा क्रिकेट क्षेत्रको बिकृति र बिदेशीकरणविरुद्ध आवाज उठाउने कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *