न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधि नजिक पुगेको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि विजेताको छिनोफानो टाइब्रेकरमा गरिएको हो ।

टाइब्रेकरमा एनआरटीलाई ४-२ ले पराजित गर्दै बागमती फाइनलमा पुग्न सफल भयो । योसँगै बागमतीले उपाधिका लागि बिहिवार संकटा फुटबल क्लबसँग खेल्ने छ ।

संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८-७ ले पराजित गरेको थियो ।

योसँगै बागमतीले कम्तिमा १३ लाख रुपैयाँ पक्का गरेको छ । टाइब्रेकरमा बागमतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे।

एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले गोल गरे। सरोज तामाङको प्रहार विकेश कुथुले रोके । सुमित श्रेष्ठको प्रहार माथिल्लो बारबाट आकासिएको थियो । म्यान अफ द म्याच गोलकिपर विकेश नै घोषित भए ।

खेलको सुरुआतदेखि नै बागमतीले एनआरटीलाई दबाबमा राखेको थियो । फलतः ११औं मिनेटमै सन्दीपले बागमतीलाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको थ्रो बललाई सन्दीपले पेनाल्टी बक्सबाट सिधै फार पोस्टमा गोल गरे ।

सेनेगाकाइज एलेक्सले त्यसको तीन मिनेटपछि नै अग्रता दोब्बर बनाए । गिदोन नाह केरमेहले दिएको बललाई सिक्स यार्ड बक्सबाट एलेक्सले सोही दिशामा गोल गरे । दोस्रो हाफको सुरुआतमै एनआरटी खेलमा फर्काउने संकेत देखाए ।

हेनरी पोकुले बक्सबाट दिएको बललाई कृतिशरत्न छुन्जुले सहजै जाली चुमाए । त्यसको तीन मिनेटपछि नै एनआरटीले खेलमा फर्किने अवसर गुमायो । कृतिशको कर्नरमा आएको बललाई पोकुले हेडर गरेका थिए ।

तर, गोलकिपर विकेश कुथु बाधक बने । ६९औं मिनेटमा कृतिशले नै अग्रता दोब्बर बनाए । विवेक गुरुङको क्रसलाई उनले वान टचमै गोल गरे । योसँगै खेल २-२ को बराबरीमा गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *