नेपालको मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप अन्तरविश्वविद्यालय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले पराजित गर्दै मध्यपश्चिम च्याम्पियन बनेको हो ।

मध्यपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । 

लखनऊका लागि ओपनर मनन कान्डपालले ५८ रन जोडे पनि अरु ब्याटर चल्न सकेनन् । मध्यपश्चिमका लागि दिवानले ३ राजकुमार साहले २ तथा रविन्द्र जंग शाही, सुवास भण्डारी र दीनेश अधिकारीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो ।

ओपनिङ राम्रो हुन नसके पनि मध्यपश्चिमका लागि दिवान पुनले ३६ बलमा ५८ रन तथा विपिन खत्रीले २८ बलमा ५ चौका र ४ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए । लखनउका लागि हर्ष बर्द्धन सिंह, ममन कन्डपाल र अभिषेक सोनीले समान १ विकेट लिए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको आयोजनामा भएको जय नेपाल कपमा तीन देशका आठ विश्वविद्यालयले भाग लिएका थिए ।

प्रतियोगिताको विजेता मध्यपश्चिमले १५ लाख पाउँदा उपविजेता लखनउले १० लाख रूपैयाँमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *