धनगढीमा माघ १९ देखि २८ गते सम्म हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गर्दै बिहीबार तालिका सार्वजनिक गरिएको गो ड्रिमर्सले जनाएको छ ।

समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी-११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा रहेका छन् । समूह ‘बी’ मा सीवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं र न्यू होराइजन बुटबल रहेका छन् ।

प्रतियोगिताअन्तर्गत माघ १९ गते डीसीए धनगढी र फ्रेन्ड्स युवा क्लब डडेल्धुराबीच उद्घाटन खेल हुने गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनका अनुसार माघ २६ गते पहिलो सेमिफाइनल, माघ २७ गते दोस्रो सेमिफाइनल र माघ २८ गते फाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच फाइनल प्रवेशका लागि खेल हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता फाइनल प्रवेशका लागि खेल्नेछन् । ‘प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्,’ शाहीले भने । क्रिकेटका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीका रूपमा द्वेन्टी-२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *