प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कप्तान रुविना क्षेत्रीको कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा लगातार दोस्रो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको दिनको दोस्रो खेलमा कोशीले मधेश प्रेदशलाई ४७ रनले पराजित गरेको हो ।

कोशीले दिएको १०६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो । मधेशका लागि प्रतिमा साहले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ कोशीका लागि रुविनाले तीन, ज्योति दनुवार र अलिशा कडायतले समान दुई तथा संगीता राईले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

कोशीका लागि ओपनर रुविना क्षेत्रीले सर्वाधिक ५७ रन बनाइन् । ५३ बल खेलेकी उनले सात चौका प्रहार गरिन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो । यसैगरी टिका शाहले २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ मधेशका लागि प्रतिमा साहले दुई तथा कप्तान सरस्वती कुमारी, भूमि सिंह र दीपा रामले समान एक विकेट लिए ।

जितसँगै दुई खेलमा चार अंक जोडेको कोशी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । कोशीले पहिलो खेलमा बागमतीलाई १० रनले हराएको थियो । मधेश भने त्रिभुवन आर्मीसँग १० विकेटले पराजित भएको थियो । आर्मी र बागमतीको समान दुई अंक रहँदा मधेश अंकविहीन छ। 

सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गर्यो ।

समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् । सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *