नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाइसकेका भीम सार्की र लोकेश बमले त्रिभुवन विश्वविद्यालयको टोलीबाट जय नेपाल कप टि-२० क्रिकेट प्रतियोगिताका खेल्ने भएका छन् ।
यसैगरी, सुदूरपश्चिमका खडकबहादुर बोहरा पनि टोलीमा रहेका छन् ।
त्रिभुवन विश्वविद्यालय टोली
नवीन पाठक, मुकेश ओझा, सौगात भण्डारी, सुरेन्द्रप्रसाद पन्त, रवि शाह, यशराज बस्नेत, आइस भट्टराई, खगेन्द्र सिंह महरा, अमितकुमार मण्डल, अखलेशकुमार ठाकुर, साइमन राय, खडकबहादुर बोहरा, भीम सार्की, लोकेश बम र सन्तोष बहादुर चन्द ।
यस्तै काठमाडौं विश्वविद्यालयको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका इशान पाण्डे छन् । उनी काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस अध्ययन सकेर अहिले इन्टर्नसिप गरिरहेका छन् । यस्तै पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय टोलीका अलराउन्डर विवेककुमार यादवले खेल्दैछन् ।
मध्यपश्चिम विश्वविद्यालयबाट कर्णाली प्रदेशका कप्तान रवीन्द्रजंग शाही खेल्दैछ्न् । टोलीमा राष्ट्रिय खेलाडी विपिन खत्री, दिवान पुन, दिनेश अधिकारी, दिपक डुम्रे र सुवास भण्डारी छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा हुने प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोली सहभागी हुनेछन् ।
प्रतियोगिता सोमबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
समूह ‘ए’ मा त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार रहेका छन् ।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन् ।
सोमबार दिउँसो सवा १२ बजे हुने उद्घाटन खेल त्रिभुवन विश्वविद्यालय र बिहारस्थित बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।
नौं दिनसम्म चल्ने प्रतियोगिता जलवायु परिवर्तनको मुद्दालाई प्रवर्धन र ग्रासरुट क्रिकेटको विकासका लागि आयोजना गर्न लागिएको संघले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख रूपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीहरूका लागि थप ५ लाख रूपैयाँ छुट्याइएको छ, जसअनुसार कुल पुरस्कार राशी ३० लाख रूपैयाँ रहेको छ ।
