एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शानदार जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले वालिङ नगरपालिकाविरुद्ध ६-१ गोलको शानदार जित हासिल गरेको हो ।
आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारीले एक्लैले पाँच गोल गर्दा विमला चौधरीले एक गोल गरिन् । वालिङका लागि मिना देउवाले सान्त्वना गोल गरिन् ।
खेलको प्लेयर अफ दि म्याच पाँच गोलकर्ता चन्द्रा भण्डारी घोषित भइन् ।

जितसँगै आर्मीले क्वालिफायर १ मा आफ्नो स्थान सुरक्षित गरेको छ । आर्मीले सात खेलमा १६ अंक जोड्दै क्वालिफायर-१ मा एपिएफसँगको भेट पक्का गरेको हो । यो हारले वालिङको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । जितविहिन वालिङ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
आइतबारको नतिजासँगै विभागीय टोली नेपाल पुलिसको क्वालिफायर-१ मा पुग्ने सम्भावना समाप्त भएको हो । एक खेल खेल्न बाँकी पुलिसको ११ अंक छ । वालिङले पराजय बेहोरेसँगै बागमती युवा क्लबले इलिमिनेटरमा स्थान बनाएको छ । सात खेलमा चार अंक जोडेको बागमतीले इलिमिनेटरमा पुलिसको सामना गर्नेछ ।
सुपर स्टेजको अन्तिम खेलमा आर्मीले एपिएफसँग खेल्न बाँकी छ । त्यस्तै वालिङले बागमतीसँग खेल्न बाँकी छ । यी दुवै खेलले अंक तालिकामा कुनै पनि असर पार्ने छैन ।
