विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५९ रनले पराजित गर्दै समूह ‘ए’ काे विजेताकाे रूपमा सुपर फाेरमा स्थान पक्का गरेको हो ।

पराजित भएकाे सुदूरपश्चिम पनि समूह उपविजेताकाे रूपमा सुपर फाेरमा प्रवेश गरेको छ । एपिएफकाे चार खेलबाट ७ अंक र सुदूरपश्चिमकाे ४ खेलबाट ६ अंक छ ।

एपीएफले दिएको १२७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर ६७ रन मात्रै जोड्न सक्यो । खराब मौसमका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो ।

सुदूरपश्चिमका का कविता कुँवरले २९ रन बनाइन् । चेतना कुँवर ७ र रविना साउद ४ रनमा अविजित रहँदा कप्तान विन्दु रावल र रेवती धामीले समान ५-५ रन जोडे ।

एपीएफका लागि कप्तान इन्दु बर्मा र कविता जोशीले समान २-२ विकेट लिँदा सवनम राईले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएपले निर्धारित १८ ओभरमा २ विकेट गुमाएर १२६ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ५८ रनको योगदान दिइन् । ४५ बल खेलेकी इन्दुले १० चौका प्रहार गरिन् । 

यस्तै, ममता चौधरी ३६ र कविता जोशी १३ रनमा अविजित रहँदा राजमति ऐरी भने २ रन जोडेर पभिलियन फर्किएकी थिइन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले १ विकेट लिइन् । खेलको प्लेयर अफ दि म्याच एपिएफकी कप्तान इन्दु बर्मा घोषित भइन् ।

शनिवारको दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच जारी छ । आइतवारबाट समूह ‘बी’ का खेलहरु सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह ‘बी’ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् ।

दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *