मलेसियामा जारी आइसिसी महिला यु-१९ बिश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँँग ५ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको ५३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशका लागि सादिया इस्लामले १६ र सुमिया अख्तरले १२ रन बनाए । नेपालका लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र कप्तान पूजा महतोले समान एक विकेट लिए ।
त्यसअघि बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा टस हाररे पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा ५२ रन मात्रै बनाएर अलआउट भएको थियो ।
नेपालका लागि सना प्रविनले सार्वधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ तथा निशिता अक्तर, अनिसा अक्तर र फाहोमिदा चोयाले समान १-१ विकेट लिए । नेपालका पाँच ब्याटर अनु कडायत, रचना चौधरी, अलिशा यादव, सिमाना केसी र पूजा महतो भने रनआउट भएका थिए ।
नेपाल रहेको समूह ‘डी’ को पहिलो खेलमा शनिबारै अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको थियो ।
विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग खेल्ने छ । त्यस्तै समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपाल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।
