झापा ११ एफसी भारतको सिक्किममा जारी १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा प्रवेश गरेको हो ।

झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । तेस्रो मिनेटमा झापा ११ का हरि मगर र १४ औं मिनेटमा सन्तोष खत्रीले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो ।

ट्रान्सपोर्ट युनाइटेडका लागि खेलको ६७ औं मिनेटमा येसी गिल्सेनले सान्त्वना गोल फर्काएका थिए । झापा ११ ले खेल अवधिभर ट्रान्सपोर्ट युनाइटेडलाई दबाबमा राखेको थियो ।

झापा ११ का विशाल घलान प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।

ट्रान्सपोर्ट युनाइटेड भुटानको सन् २००४, २००५, २००६, २००७, २०१७ र २०१८ को लिग च्याम्पियन क्लब हो । झापा ११ एन्फा कप च्याम्पियन र मोफसलका गोल्डकपको सशक्त टिम हो ।

यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो । झापा ११ ले अब दोस्रो सेमिफाइनल खेल माघ ६ गते सुदेवा एफसी नयाँ दिल्लीसँग खेल्नेछ ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र दोस्रो टोलीले १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।

Jhapa Today

Leave a Reply

Your email address will not be published. Required fields are marked *