विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा साविक बिजेता एपिएफले कर्णाली प्रदेशलाई १११ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुआत गरेको हो ।
एएिफले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभर नै ब्याटिङ गरेपनी सात विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका लागि दिक्षा पुरीले सार्वधिक १७ रन बनाइन् । गौरी बोहरा र रामा बुढाथोकीले समान १० रन बनाए ।
बलिङतर्फ एपिएफकी स्पिनर करुणा भण्डारीले सार्वधिक तीन विकेट लिइन् । रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १८२ रनको विशाल योगफल तयार गरेको थियो ।
एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले खविजित ७८ रनको योगदान गरिन् । यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाए ।
ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन् । बलिङतर्फ कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन् ।
