बेलबारी । मोरङको बेलबारीमा जारी पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नक्सलबारी फुटबल क्लब र सतिसाले फुटबल क्लब मोरङ भिड्ने भएका छन् ।
सोमबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लब मोरङलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक नक्सलबारीले सतिसालेसँँगको उपाधि भिडन्त पक्का गरेको हो ।

बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा नक्सलबारीलाई जित दिलाउन रोहन श्रेष्ठले दुई तथा अमित यसराले एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच नक्सलबारीका अमित यसरा घोषित भए । उनले नगद २,०८१ पुरस्कार पाए ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा पानबारी फुटबल क्लब सुनसरीलाई ४–१ ले हराउँदै सतिसाले फाइनलमा पुगिसकेको छ ।
उपाधिका लागि मंंगलबार आयोजक नक्सलबारी र सतिसालेबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना तथा नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा जारी प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी कुल आठ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख १ हजार तथा उपविजेताले नगद ५१ हजार पुरस्कार पाउने छन् ।
