प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आइतबार बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । कप्तानमा विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् ।
यही पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको प्रादेशिक क्रिकेट सङ्घकाअध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
माघ १ देखि १२ गतेसम्म सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला स्टेडियममा हुने प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।
