अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा बागमती प्रदेशमाथि ९५ रनको अग्रता बनाएको छ ।
नेपाल पुलिस क्लब आफ्नो पहिलो इनिङ्समा ४५.५ ओभरमा २१५ रन बनाउँदै अलआउट भएको थियो ।
पुलिसका लागि अर्जुन साउद र अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । अमितले ९७ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७९ रन बनाए । अर्जुनले ८२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । गुल्शन झाले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सार्वधिक ४ विकेट लिए । उनले ११.५ ओभरमा ६५ रन खर्चेर ४ विकेट लिए । सो क्रममा उनले ३ मेडन ओभरसमेत फाले ।
सन्दीपले अर्जुन साउलाई ३५.३ ओभरमा, शङ्कर रानालाई ३९.४ मा, सन्तोष यादवलाई ४५.२ र ललित राजवंशीलाई ४५.५ ओभरमा आउट गरे । यस्तै, प्रतिश जिसी र नन्दन यादवले २–२ तथा रिजन ढकालले १ विकेट लिए ।
त्यसअघि जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा टस हारेर ब्याटिङको निम्ता पाएको बागमती ३३.२ ओभरमा १ सय १२ रनमा अल आउट भयो ।
बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाएका थिए । ९४ बल खेलेका उनले १० चौका प्रहार गरे। यस्तै, प्रतिश श्रेष्ठले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पुलिसका लागि श्रवण यादवले ह्याट्रिक सहित ३ विकेट लिए । श्रवणले लिएको ह्याट्रिक प्रतियोगिताकै पहिलो हुन पुग्यो । उनले २७औं ओभरमा प्रतिक श्रेष्ठ, सुर्य तामाङ र सन्दीप लामिछानेलाई आउट गराएका थिए ।

पुलिसका लागि ललितनारायण राजवंशीले सार्वधिक चार तथा कुशल भुर्तेलले दुई विकेट लिए ।
आजै दोस्रो इनिङको सुरुवात गरेको बागमतीले चार ओभरको समाप्तीमा ८ रन जोडेको छ । बागमती अझै ९५ रनले पछि छ ।
पहिलो र दोस्रो खेल बराबरी खेलेको बागमती २८ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल बराबरी र एक खेलमा जित हात पारेको पुलिस ४० अंकका साथ शीर्ष स्थानमा छ ।
