चीनमा जारी बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिजमा नेपाली टोलीले आयोजक चीनलाई ८४ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा लगातार चौथो सफलता हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि टीका शाहले सर्वाधिक ४३ रन बनाइन् । सोनी पाख्रिनले ३१, सबित्री धामीले २४ तथा साना प्रविनले १३ रनको योगदान दिइन् ।

१४२ रनको लक्ष्य पछ्याएको चीनले १३.३ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्रै बनाउन सक्यो । चीनका लागि युफेई सुनले सर्वाधिक २८ रन बनाइन् ।

नेपालका लागि टीका शाह, रचना चौधरी र एमके उपाध्यायले समान ३–३ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेकी टीका खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

यस जितसँगै नेपालले सिरिजमा चौथो जित निकालेको छ । यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेट, हङकङलाई ९२ रन र दोस्रो खेलमा थाइल्यान्डलाई ५२ रनले पराजित गरेको थियो । चीनविरुद्धको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

चार टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन् । अंकतालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । चीनविरुद्धको जितपछि नेपाल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेपालले सिरिजको अन्तिम खेल आइतबार हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *