काठमाडौँ । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप आज देखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले थानकोट वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको थानकोट वारियर्स जीएचसीएका बलरसामु निरीह बन्दा ९.३ ओभरमा अलआउट हुँदै ७० रनमा समेटियो । थानकोटका लागि आरश तमाङले १६ रन र प्रदीप धामीले १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

थानकोटलाई सस्तैमा समेट्न जीएचसीएका रुपेश शृवास्तवले घातक बलिङ गर्दै ४ विकेट लिए ।

७१ रनको सामान्य लक्ष्य पछ्याएको जीएचसीएले मात्र ५.५ ओभरमा १ विकेट गुमाउँदै ७३ रन बनाएर लक्ष्य पूरा गर्‍यो । जीएचसीएको सहज जितमा अशोक पौडेलले अविजित २८ रन, क्रिस कार्की ले २२ रन तथा नितेश मोक्तान अविजित २१ रनको इनिङ खेले ।

त्यस्तै आज नै भएको दोस्रो खेलमा चन्द्रागिरी क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) ले पुष्पलाल स्पोर्ट्स क्लबलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली सीसीएएनले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । सीसीएएनका लागि दिनेश सुबेदीले २४ रन जोडे । त्यस्तै, संगम न्यौपानेले २३ रन र स्वरूप श्रेष्ठले २३ रनको महत्वपूर्ण योगदान दिए ।

पुष्पलाल स्पोर्ट्स क्लबका बलर विक्रम पाण्डेले २ विकेट लिए भने अमन यादव र दीपक भण्डारी ले समान १–१ विकेट हात पारे ।

१३६ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पुष्पलाल स्पोर्ट्स क्लबले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ६४ रन मात्र जोड्न सक्यो । पुष्पलालका लागि जनक छेत्रीले ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा सन्तोषजनक रन जोड्न सकेनन् ।

पुष्पलाललाई सस्तैमा समेट्न सीसीएएनका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। मुकेश ओझाले २ विकेट लिए । यस्तै, संगम न्यौपाने र नटराजन कुमार ले १–१ विकेट लिएपछि सीसीएएनले सानदार जित दर्ता गर्‍यो ।

त्यस्तै आज नै भएको सम्पन्न भएको तेस्रो खेलमा क्यानन क्रिकेट क्लबले जम्पर्स क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जम्पर्स क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ७५ रन बनाएको थियो । जम्पर्सका अनिश सापकोटा ले १५ रन बनाउँदा रन्जित दाहाल ले १३ तथा रोबिन्द कुमार ले १३ रन जोडे । क्यानन क्रिकेट क्लबका लागि गणेश विष्टले सर्वाधिक चार विकेट लिए ।

७६ रनको लक्ष्य क्यानन क्रिकेट क्लबले मात्र ४.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। क्याननको जितमा उपेन्द्र खत्री ले विस्फोटक ब्याटिङ गर्दै मात्र १७ बलमा ४९ रन बनाए । त्यस्तै आश्रय अधिकारीले २२ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *