सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहीबार भएको पुरुष क्रिकेटतर्फको दोश्रो खेलमा नेपाल आर्मी क्लबले गण्डकीलाई ६७ रनले पराजित गरेको छ ।
कालुन्चोक मैदानमा विहीबार भएको दोश्रो खेलमा टस जितेर बलिंग रोजेको गण्डकीविरुद्ध विभागीय टोलीले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १७७ बनायो ।
जवाफी ब्याटिंगमा उत्रिएको गण्डकी भने १७ ओभरमा अलआउट हुँदा ११० रनमा सीमित भयो । राष्ट्रिय टोलीबाट समेत खेलीसकेका आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लको समान ३६—३६ रनको योगदानमा विभागीय टोलीले १७८ रनको लक्ष्य खडा गर्यो । मल्लले २ छक्का र ४ चौका प्रहार गर्दै ३६ रन जोड्दा भण्डारीले १ छक्का र ३ छक्काको मद्दतमा ३६ बलमा ३६ रन बटुले ।
आर्मीका वशिर अहमदले २७ र त्रितराज दास ११ बलमा २४ रन जोडेपनि राष्ट्रिय टीमका अर्को सदस्य भीम सार्की दुई बल खेल्दै खातै नखोली डगआउट फर्किए । बलिंगमा गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर ३ विकेट हात पार्दा कृष्ण पौडेल र सुदिप अर्यालको खातामा समान दुई-दुई विकेट रह्यो । २१ रन अतिरिक्त खर्चिनु गण्डकीका लागि घातक बन्यो ।
गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित २६ रन जोडेर टीमका लागि सर्वाधिक रन बटुले भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे । आर्मीका लागि म्यान अफ दि म्याच तिलकराज भण्डारीले ३ ओभर बलिंग गर्दै जम्मा १२ रन खर्चेर ४ विकेट हात पारे । यस्तै नरेश साउँदले २ र कुशल मल्लले १ विकेट लिए ।
पहिलो जीतसंगै कर्णाली र आर्मीले समान दुई-दुई अंक जोडेका छन् ।
