मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित शुक्रबारे खेलमैदानमा तेस्रो वडा अध्यक्ष कप यू–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबारे फुटबल क्लबको आयोजनामा मंसिर ११ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितालाई सुन्दरहरैँचा नगर खेलकुद विकास समिति र वडा नम्बर १२ ले प्रवर्द्धन गरेका छन् ।

प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका टिम सहभागी हुनेछन् । १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाउने खेल संयोजक टीकाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा आकर्षित गर्दै नयाँ फुटबल खेलाडी उत्पादन गर्नुका साथै युवालाई कुलतबाट जोगाई खेलकुदमा सक्रिय बनाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका–१२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले शुक्रबारे खेलमैदानमा विगतमा पनि धेरै खेलकुद गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले मैदानमा रात्रिकालीन फुटबल खेल सञ्चालन गर्न बत्ती जडानको काम भइरहेको जानकारी दिँदै खेल क्षेत्रको विकासमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै प्रतियोगितामा सहभागी गराउँदा उनीहरूलाई हौसला मिल्ने र खेलकुदप्रति थप आकर्षण बढ्ने उहाँको भनाइ थियो । यस्ता प्रतियोगिता समय–समयमा आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि एन्फा मोरङका उपाध्यक्ष प्रकाश मास्केले खेलमैदानलाई पुनर्जीवन दिने प्रयास गरेको भन्दै वडाध्यक्ष ढकालको प्रशंसा गर्नुभयो । उहाँले फुटबलको विकासका लागि विद्यालय तहदेखि नै ग्रासरुट फुटबललाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

‘ग्रासरुटबाटै फुटबलको विकास सुरु हुन्छ। युथ फुटबल क्लबभन्दा पनि ग्रासरुट फुटबललाई प्राथमिकता र माया दिनुपर्छ,’ उहाँले भन्नुभयो । फुटबल विकासका लागि एन्फाको तर्फबाट समेत आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

क्लबका अध्यक्ष जय नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न फुटबल क्लबका अध्यक्ष तथा खेल क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।प्रतियोगिताको मूल नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *