दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।
बागमतीले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल २६ पदक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ९ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १५ पदक जितेको छ ।
त्यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित कुल २९ पदक जितेर तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल २७ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।
कोशी प्रदेश २ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ रजत र १ कांस्य गरी ५ पदकसहित छैटौँ स्थानमा छन् ।
तेस्रो दिनसम्मको विवरणअनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेश प्रदेशले पदक जित्न सकेका छैनन् ।
हालसम्म प्रतियोगितामा ३४ स्वर्ण, ३४ रजत र ३६ कांस्य गरी कुल १०४ पदकको टुङ्गो लागेको छ ।
