काठमाडौं। चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल को आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टि-१० को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी मंसिर १० गतेदेखि १५ गतेसम्म काठमाडौंको चन्द्रागिरि नगरपालिका–६, गोलछापस्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन र युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
साथै, चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ । प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जसमा प्रत्येक समूहमा चार टोली रहनेछन् । ड्युस बल प्रयोग गरी खेलाइने प्रतियोगिता टि-१० फर्म्याटमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टलगायत विभिन्न विधामा नगद पुरस्कार तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूमा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ ।
