भारतमा आयोजना हुने काभा पुरुष क्लब भलिबल लिग २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पहिलो खेल इरानको फुलाड सिरजान इरानियनसँग खेल्ने भएको छ ।
भारतको ओडिशास्थित भुवनेश्वरमा नोभेम्बर १५ देखि २२ (कात्तिक २९ देखि मंसिर ६) सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले खेलतालिका सार्वजनिक गरेको छ।
सार्वजनिक खेलतालिकाअनुसार रुकुम पश्चिमले नोभेम्बर १५ मा इरानियनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपालसहित पाँच देशका ६ टोली सहभागी हुँदैछन् ।
आयोजक भारतका दुई टोलीसहित नेपाल, इरान, काजकिस्तान र अफगानिस्तानका एक–एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालको रुकुम पश्चिमसँगै भारतका मुम्बई मेटियर्स र बेङ्गलुरु टोरपेडोज, इरानको फुलाड सिरजान इरानियन, काजकिस्तानको झेतिसु तथा अफगानिस्तानको काम एयर सहभागी छन् ।
रुकुम पश्चिमले लिग चरणमा पाँच खेल खेल्नेछ । पहिलो खेल नोभेम्बर १५ मा इरानियनसँग खेलेपछि नोभेम्बर १६ मा काजकिस्तानको झेतिसुसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, नोभेम्बर १७ मा भारतको बेङ्गलुरु टोरपेडोज, नोभेम्बर १९ मा अफगानिस्तानको काम एयर र नोभेम्बर २० मा भारतकै मुम्बई मेटियर्ससँग खेल्ने तालिका छ ।
६ टोली सहभागी प्रतियोगितामा लिग चरणका खेलपछि अंकतालिकाको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनलका खेल नोभेम्बर २१ मा हुनेछन्। नोभेम्बर २२ मा तेस्रो स्थान र उपाधिका लागि फाइनल हुनेछ ।
