काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको आर्थिक संकलन अभियानबाट उक्त रकम जुटाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको पहलमा एरिकालाई उक्त रकम प्रदान गरिएको नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार एक कार्यक्रमका बीच राखेपका कार्यकारी सदस्य सुवालले एरिकालाई चेक हस्तान्तरण गरिन् । गत सेप्टेम्बर २० मा सिड्नीमा विशेष रन आयोजना गर्दै क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो ।
अभियानमार्फत संकलित करिब तीन लाख रुपैयाँ एरिकाको खातामा सीधै जम्मा गरिएको आयोजकले जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा एरिकाले यो सहयोगले आफ्नो आगामी यात्राका लागि ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन् । उनी १९औं एसियाली खेलकुदमा रजत पदक विजेता हुन् । तर पछिल्लो संस्करण २०औं एसियाली खेलकुदमा उनी पदकविहीन रहिन् । खराब दिन बिर्सेर आगामी प्रतियोगितामा सुखद नतिजा ल्याउने एरिकाले विश्वास गरेकी छन् ।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङले आगामी प्रतियोगितामा नेपाली खेलाडीले इतिहास बनाउने लक्ष्यसहित तयारी गरिने बताएका छन् ।
