१०औँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिनसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ स्वर्ण पदकसहित पदक तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ ।

बिहीबार तेस्रो दिनको एनआरएनएले दुई स्वर्ण, दुई रजत र एक कांस्य गरी पाँच पदक थपेसँगै उसको कुल पदक संख्या १५ (९ स्वर्ण, ३ रजत र ३ कांस्य) पुगेको हो । एनआरएनएका लिली बोहरा र मिखा काया थापाको उत्कृष्ट प्रदर्शनले टोलीलाई स्वर्णको दौडमा बलियो अवस्थामा पुर्‍याएको छ ।  

तेस्रो दिन एनआरएनएलाई पहिलो स्वर्ण १५ वर्षीया लिली बोहराले दिलाइन् । महिला २०० मिटर इन्डिभिजुअल मिड्लेको फाइनलमा लिलीले २ मिनेट ३३.६७ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण हात पारिन् ।

प्रतिस्पर्धात्मक बनेको उक्त स्पर्धामा उनले त्रिभुवन आर्मी क्लबकी डुआना लामा (२ मिनेट ३३.८९ सेकेन्ड) लाई पछि पारिन् भने सोही स्पर्धामा एनआरएनएकै १६ वर्षीया मिखा काया थापाले २ मिनेट ४६.९३ सेकेन्डसहित कांस्य पदक जित्न सफल भइन् ।

यसैगरी, महिला ५० मिटर ब्याकस्ट्रोकमा मिखा काया थापाले ३३.२७ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितिन् । उनले बागमती प्रदेशकी आर्या महर्जन सिनियर (३३.४३ सेकेन्ड) लाई पछाडि पारिन् ।

यद्यपि, महिला १०० मिटर बटरफ्लाईमा मिखा १ मिनेट २०.६९ सेकेन्डको समयसहित पाँचौँ स्थानमा सीमित भइन् । अर्कोतर्फ, लिली बोहराले तेस्रो दिन थप दुई रजत पदक पनि एनआरएनएको खातामा जोडिन् ।

उनी महिला १०० मिटर बटरफ्लाईमा १ मिनेट १२.०३ सेकेन्डसहित दोस्रो (डुआना लामा १ मिनेट १०.४३ सेकेन्ड पहिलो) र महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ५८.६४ सेकेन्डसहित दोस्रो (डुआना लामा २ मिनेट ४९.३४ सेकेन्ड पहिलो) भइन् ।

तेस्रो दिनसम्म पदक तालिकामा १२ स्वर्ण, ७ रजत र ७ कांस्यसहित कुल २६ पदक जितेर बागमती प्रदेश स्वर्ण पदकका आधारमा शीर्ष स्थानमा रहेको छ भने ९ स्वर्णसहित एनआरएनए दोस्रो स्थानमा छ ।

कुल पदक संख्याका हिसाबले भने नेपाल आर्मी क्लब ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित २९ पदकका साथ अगाडि छ । नेपाल पुलिस क्लब ४ स्वर्ण, ११ रजत र १२ कांस्यसहित २७ पदकमा रहेको छ । कोशी प्रदेश २ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ रजत र १ कांस्यसहित कुल ५ पदकका साथ छैटौँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *