बेलका, उदयपुर । बेलका नगरपालिकाको संरक्षण तथा ब्रदरहुड फुटबल क्लब, बेलकाको आयोजनामा सञ्चालन हुने तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को मिति सार्वजनिक गरिएको छ ।
आयोजकले आज आयोजित कार्यक्रममा प्रतियोगिता २०८३ कार्तिक १४ गतेदेखि २१ गतेसम्म बेलका–६ स्थित लेकाली खेल मैदानमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहनेछ ।
यस संस्करणमा प्रतियोगिताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा दोब्बर वृद्धि गरिएको प्रतियोगिता संयोजक देविन मगरले जानकारी दिनुभयो । क्लबका अध्यक्ष रबिन तामाङ रहनुभएको प्रतियोगिताको गत संस्करणको विजेता गाईघाट फुटबल क्लब रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामार्फत स्थानीयस्तरमा फुटबल खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखिएको छ ।
