प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा गछिया युवा समाज, गछिया, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा फेयर फुटबल क्लब, धरान, सुनसरीलाई टाइब्रेकरमा ५-४ को गोल अन्तरले पराजित गर्दै गछिया उपाधि नजिक पुगेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गछियाका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ दि म्याच घोषित भए । उनलाई ट्रफीसहित नगद रु. २,५०० प्रदान गरियो ।

अब गछियाले उपाधिका लागि बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक प्रकाशपुर युवा जमात र गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर भिड्नेछन् ।

प्रकाशपुर युवा जमातको आयोजनामा जारी प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *