साविक विजेता सलहेस युवा क्लब, सिरहालाई हराउँदै न्यु रोड टिम (एनआरटी), काठमाडौं पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकपमा फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब, सिरहालाई ३–० गोल अन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको १०औं मिनेटमै सलहेसका निग्मा घिसिङको आत्मघाती गोलबाट एनआरटीले सुरुआती अग्रता लिएको थियो । निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेटअघि कृष्णबहादुर आलेले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए ।
निर्धारित समयपछि थपिएको ४ मिनेटको दोस्रो मिनेटमा सुदीप श्रेष्ठले टोलीका लागि तेस्रो गोल गर्दै जित पक्का गरे ।
खेलको म्यान अफ दि म्याच एनआरटीका गोलकिपर विशाल सुनार घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
मोरङको पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा असोज २४ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ । सोमबार तेस्रो क्वाटरफाइनल खेलमा झापा–११ र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पथरी-११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।
