काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाेज २२ देखि २८ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।
सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित २३ वटा वडाको सहभागिता रहनेछ ।
उद्घघाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ ।
त्यसैगरी, व्यक्तिगततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
यस फुटसल प्रतियोगितालाई सफल पार्न २३ वडा सदस्य गोपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, प्रज्वल शाक्य, सुरेश मानन्धर, विशाल श्रेष्ठ र लैनचौर युवा क्लबका अध्यक्ष रामबहादुर (रम्बा) रजक रहेको मूल समिति गठन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन चरणका खेलहरू असोज २२ गतेदेखि सुरु हुनेछन् ।
असोज २२ गते बिहान ८:०० बजे वडा नं २३ र के.एम.सी. बीच, बिहान ९:०० बजे वडा नं ६ र वडा नं ३ बीच तथा बिहान १०:०० बजे वडा नं २२ र वडा नं २७ बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
