काठमाडौं । स्वस्तिश्री स्पोट्र्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल कप १.० प्रतियोगिता २०२६ सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न १२ फुटबल एकेडेमीका २५ टिमहरूको सहभागिता रहेको थियो ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा पहिचान, विकास र नेत्तृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले युवा फुटबल प्रतिभाका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

प्रतियोगिताको समापन समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी राष्ट्रिय खेलाडी अनिता बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । समापन समारोहलाई सम्बोधन गर्दै बस्नेतले सानै उमेरदेखि बालबालिकाले आफ्नो फुटबल प्रतिभा विकास गर्ने यस्तो उत्कृष्ट अवसर पाउनु खुशीको विषय भएको बताइन् । उनले स्वस्तिश्री स्पोट्र्स एकेडेमीले प्रतियोगिताको आयोजना गरी भविष्यका फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा प्रशंसा गर्दै नेपाली फुटबलको भविष्य निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताइन् ।

प्रतियोगिताको यू–७ छात्रतर्फ काठमाडौं किकर्सले प्रथम स्थान हासिल गर्दा द एक्सेलसियर्स दोस्रो र स्वस्तिश्री स्पोट्र्स एकेडेमी तेस्रो भयो। यस विधामा द एक्सेलसियर्सका रिदम ओली उत्कृष्ट खेलाडी, काठमाडौं किकर्सका श्रीहान देवकोटा सर्वाधिक गोलकर्ता तथा स्वस्तिश्री स्पोट्र्स एकेडेमीका कर्मा लामा उत्कृष्ट गोलरक्षक घोषित भए ।

त्यसैगरी, यू–८ छात्रतर्फ स्वस्तिश्री स्पोट्र्स एकेडेमीले प्रथम स्थान हासिल ग¥यो। गोल्स एफए दोस्रो र एपीएफ तेस्रो भए । गोल्स एफएका एथन गुरुङ उत्कृष्ट खेलाडी, स्वस्तिश्री स्पोट्र्स एकेडेमीका श्रीयांश गजुरेल सर्वाधिक गोलकर्ता तथा सोही एकेडेमीका आहान श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । यू–९ छात्रातर्फ स्वस्तिश्री स्पोट्र्स एकेडेमीले प्रथम स्थान हासिल गर्दा काठमाडौं किकर्स दोस्रो र स्वस्तिश्री स्पोट्र्स एकेडेमीको अर्को टोली तेस्रो भयो । स्वस्तिश्री स्पोट्र्स एकेडेमीकी स्नेहा मानन्धर उत्कृष्ट खेलाडी, काठमाडौं किकर्सकी शायना पाण्डे सर्वाधिक गोलकर्ता तथा स्वस्तिश्रीकी कश्यपी बानियाँ उत्कृष्ट गोलरक्षक घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट अनुशासन, खेल भावना र निष्पक्ष प्रतिस्पर्धा प्रदर्शन गरेको भन्दै लाइफ एकेडेमीलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि अनिता बस्नेत, स्वस्तिश्रीका प्रबन्ध निर्देशक मीना महर्जन र प्रधानाचार्य नेहा के.सी. ले पदक तथा ट्रफी प्रदान गरेका थिए पुरस्कार वितरणसँगै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विजेता टोलीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *