भारतको युनाइटेड कुर्सेङ फुटबल क्लब (युकेएफसी)लाई फराकिलो अन्तरले पराजित गर्दै झापा-११ अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा युकेएफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै झापा-११ उपाधि नजिक पुगेको हो । झापा ११ को सहज जितमा प्रताप चाम्लिङ राईले ह्याट्रिक प्रहार गरे भने फागुराम थारुले दुई गोल गरे ।

खेलको पाँचौं मिनेटमै फागुरामले गोल गर्दै झापा ११ लाई सुरुआती अग्रता दिलाए । त्यसको केही मिनेटमै युकेएफसीले आत्मघाती गोलमार्फत बराबरीको अवसर पायो । खेलको नवौं मिनेटमा झापाका पदम भट्टराईले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेपछि युकेएफसीले उपहारमा गोल पाएको थियो ।

त्यसपछि झापा ११ ले खेलमा आफ्नो पकड बलियो बनाउँदै लग्यो । प्रतापले खेलको ३०औं मिनेटमा गोल गर्दै झापालाई पुनः अग्रता दिलाए । फागुरामले ५४औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे भने प्रतापले ५६ औं र ८०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता प्रताप चाम्लिङ राई घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहीवार दोस्रो सेमिफाइनल खेल न्यु रोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबबीच हुनेछ । उक्त खेलको विजेताले फाइनलमा झापा ११ को सामना गर्नेछ।

मोरङको पथरीशनिश्चरे नगरपालिका -१ स्थित पथरी रङ्गशालामा असोज २४ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।

पथरी-११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *