नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियोगिताका क्रममा सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ ।

नेसनल प्याथ ल्याबले खेलाडीहरूको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा उपलब्ध गराएर नेपाली क्रिकेटको विकासमा योगदान गर्न पाउँदा खुसी र गौरवान्वित रहेको जनाएको छ ।

साथै, एनपीएल यात्रामा जिम्मेवार मेडिकल पार्टनरका रूपमा सुदूरपश्चिम रोयल्सलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले खेलाडीहरूको स्वास्थ्य र फिटनेस टोलीको सफलताका महत्वपूर्ण आधार भएको बताए । “खेलाडीको स्वास्थ्य र फिटनेस हाम्रो प्राथमिकतामा पर्छ । एनपीएलजस्तो लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा खेलाडीलाई आवश्यक स्वास्थ्य तथा डायग्नोस्टिक सेवा समयमै उपलब्ध हुनु महत्वपूर्ण हुन्छ । नेसनल प्याथ ल्याबजस्तो विश्वासिलो संस्थासँग मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं । उहाँहरूको विशेषज्ञता र सहयोगले हाम्रो टोलीलाई प्रतियोगिताभर थप आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौं,” खड्काले भने ।

नेसनल प्याथ ल्याब र सुदूरपश्चिम रोयल्सबीचको सहकार्यले खेलाडीको स्वास्थ्य सुरक्षासँगै नेपाली क्रिकेटमा स्वास्थ्यसम्बन्धी व्यावसायिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *