अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेल सञ्चालनका नियमहरू (प्लेइङ कन्डिसन्स) मा नयाँ र महत्त्वपूर्ण परिवर्तनहरूको घोषणा गरेको छ, जुन अक्टोबर १, २०२६ देखि लागू भएका छन् ।

नयाँ नियमअनुसार ब्याटरहरूले खेलमा समय खेर फालेमा उनीहरूको टोलीलाई ५ रनको पेनाल्टी लगाइनेछ भने महिला, पुरुष र जुनियर क्रिकेटका लागि क्रिकेट बलको आकार र तौल फरक-फरक तय गरिएको छ ।

आइसिसीको नयाँ नियमावलीअनुसार ब्याटरले एउटै इनिङ्समा तीन पटकसम्म समय खेर फालेमा बलिङ गर्ने टोलीलाई ५ पेनाल्टी रन प्रदान गरिनेछ । यदि ब्याटर निर्धारित समयभित्र बल सामना गर्न तयार नभएमा अम्पायरले कारबाहीको प्रक्रिया अघि बढाउनेछन् ।

नियम ४१.१०.३ अनुसार कारबाही निम्न चरणमा हुनेछ :

पहिलो पटक : बलरतर्फका अम्पायरले ब्याटर (स्ट्राइकर) लाई चेतावनी दिनेछन् र नन-स्ट्राइकर, अब आउने ब्याटरहरू, फिल्डिङ टोलीका कप्तान तथा अर्का अम्पायरलाई यसबारे जानकारी गराउनेछन् ।

दोस्रो पटक : उही प्रक्रिया दोहोर्‍याइनेछ र यो अन्तिम चेतावनी हुने कुरा स्मरण गराइनेछ ।

तेस्रो पटक वा त्यसपछि : बलरतर्फका अम्पायरले फिल्डिङ टोलीलाई ५ पेनाल्टी रन प्रदान गर्नेछन् र ब्याटरहरू, फिल्डिङ टोलीका कप्तान तथा अर्का अम्पायरलाई जानकारी गराउनेछन् ।

‘निर्धारित समय’ भन्नाले सामान्यतया बलर र फिल्डिङ टोली अर्को बल फाल्न तयार भएको समयलाई जनाउँछ । बलर रन-अपको शीर्ष स्थानमा पुग्दा ब्याटर बल सामना गर्न तयार हुनुपर्नेछ । तर, कुनै खेलाडी आउट भएको अवस्थामा भने नयाँ ब्याटरलाई मैदान प्रवेश गरी पहिलो बल सामना गर्न २ मिनेटको समय दिइनेछ; अन्यथा ‘टाइम आउट’ हुने जोखिम रहन्छ ।

बहुदिवसीय (मल्टि-डे) क्रिकेटमा ८० ओभरको ब्लक सकिएपछि चेतावनीको सङ्ख्या पुनः शून्य (रिसेट) हुनेछ र अर्को ८० ओभरको ब्लकसँगै नयाँ चेतावनी प्रक्रिया सुरु हुनेछ ।

महिला र जुनियर क्रिकेटका लागि अलग-अलग बल

यसअघि बल निर्माताहरूले महिला र जुनियर क्रिकेटका लागि प्रायः एउटै आकारको बल उत्पादन गर्ने गर्दथे । तर नयाँ नियम लागू भएपछि पुरुष, महिला र जुनियर क्रिकेटका लागि बलको आकार र तौलका तीनवटा भिन्न-भिन्न मापदण्ड निर्धारण गरिएका छन् ।

डे-टेस्टमा ‘पिंक बल’ र अन्तिम ओभरको विकेट

आइसिसीले पहिले स्वीकृत गरिसकेका केही नियमहरूलाई पनि परिमार्जित नियमावलीमा आधिकारिक रूपमा समेटेको छ ।

दिनको समयमा खेलिने टेस्टमा पनि पिंक बल प्रयोग गर्न सकिने पुष्टि गरिएको छ । मल्टि-डे म्याचमा दिनको अन्तिम ओभरमा विकेट जाँदैमा स्वचालित रूपमा त्यस दिनको खेल सकिएको (स्टम्प्स) घोषणा गरिने छैन ।

खेलको अन्तिम बल वा प्रतिस्पर्धात्मक क्षणमा बल पूर्ण रूपमा नियन्त्रणमा आएको वा रोकिएको घोषणा गर्न अम्पायरलाई बढी अधिकार प्रदान गरिएको छ । यसका लागि बल अनिवार्य रूपमा बलर वा विकेटकिपरकै हातमा हुनुपर्ने छैन ।

रन-आउट र स्टम्पिङ: रन-आउट वा स्टम्पिङ गर्नका लागि फिल्डर वा विकेटकिपरको बलमा पूर्ण नियन्त्रण हुनुपर्नेछ । केवल बललाई छोएर स्टम्प ढाल्दैमा आउट मानिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *