काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

नेपालको अग्रणी टुर अपरेटर तथा डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको सिलिंक्स होलिडेजले प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक, टोलीका पदाधिकारी तथा अधिकारीहरूको सम्पूर्ण यात्रा, यातायात, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन गर्नेछ ।

साझेदारीले एनपीएलको आयोजनालाई सहज बनाउन सहयोग गर्नुका साथै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेल पर्यटनको उदीयमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेको छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सिलिंक्स होलिडेजसँगको सहकार्यले टोलीको यात्रा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताए । ‘एनपीएल जस्तो ठूलो प्रतियोगितामा टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ । सिलिंक्स होलिडेजजस्तो अनुभवी कम्पनीसँग आधिकारिक ट्राभल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं । यो साझेदारीले हाम्रो टोलीको व्यवस्थापनलाई थप सहज र व्यावसायिक बनाउनुका साथै खेलकुद र पर्यटनलाई जोड्ने अवसर पनि सिर्जना गर्ने विश्वास लिएका छौं’ खड्काले भने ।

सिलिंक्स होलिडेजकी कार्यकारी निर्देशक पवना श्रेष्ठले सुदूरपश्चिम रोयल्ससँगको साझेदारीलाई नेपाली खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउने अवसरका रूपमा लिएको बताइन् । ‘सुदूरपश्चिम रोयल्ससँग आधिकारिक ट्राभल पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं । खेलकुदले नेपाललाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमाझ पनि चिनाउने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको छ । टोलीको यात्रा, लजिस्टिक्स र आतिथ्य व्यवस्थापनमा उत्कृष्ट सेवा प्रदान गर्दै एनपीएलको अनुभवलाई थप सहज बनाउनुका साथै नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योगदान गर्ने हाम्रो लक्ष्य छ’ श्रेष्ठले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *