नेपालले एसीसी मेन्स प्रिमियर कपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपालले साउदी अरबलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि १९१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए । यसैगरी, इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रनको योगदान दिए ।

साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रनको योगफल तयार पारेको थियो ।

साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । यसैगरी, मोहम्मद अतिफले ३०, मोहम्मद हिसम शैदले २८ र जैन उबिदिले १२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३, ललितराजवंशीले २ तथा शेर मल्ल र गुल्शन झाले समान १ विकेट लिए ।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह ‘ए’ मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *